धन र मनका धनी, पोचुर्गलका नेपाली हिरो 'रमेश कुमार'

दिनेश/विवेक
पोचुर्गल १५ पुस । जन्मभूमि त्यतिखेर झनै प्यारो लाग्छ, जब हामी जन्मभूमि भन्दा टाढा पुगेको भइन्छ । धनदैलत र मान प्रतिष्ठा आर्जन गर्न देशबाहिर जाने नेपालीको संख्या ठुलो छ । विदेशमा चौबीसै घण्टा आफ्नो पेसा ब्यवसायमा ब्यस्त नेपालीलाई कसैले नेपालको कुरा गर्यो भने उनीहरुलाई उर्जा थपिएझै लाग्छ । माटोको मायाले तानिरहेको हुन्छ, यसको ज्वलन्त उदाहरण हुन्, गैर आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष एवं सफल व्यवसायी 'रमेश कुमार गुरुङ' ।
अति मिलनसार, शालिन र समझदार व्यक्तित्वका रुपमा पोर्चुगलबासी नेपालीले उनलाई चिन्ने गर्दछन् । 'नेपालीलाई अप्ठेरो पर्दा सधै सहयोगमा उनको हातहरु अगाडी बढीरहेका हुन्छन्' पोर्चुगलमा बस्दै आएका एक नेपालीले भने, 'उहाँ साच्चै नै सहयोगी भावनाको मान्छे हुनुहुन्छ ।' व्यापार ब्यवसायमा रहेर कहिल्यै फुर्सद नहुँदा पनि नेपाल र नेपालीप्रति उनको लगाव, जागर र तत्परतामा कहिल्यै कमि आएको पाइदैन । त्यसो उनी तिब्र गतिमा आधुनिकताको बाटोमा अघि बढीरहेको मुलुक पोर्चुगलको लिस्बोनमा बसेर त्यहाँको व्यवसायिक सञ्जालमा छोटो समयमै स्थापित बन्न सफल बन्न समेत बनिसकेका छन् । उनी आफू सफल बन्नुले नेपाल र नेपालीलाई पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाईदा पुग्न जाने विश्वास समेत व्यक्त गर्छन ।

डेढ दशक अघि सुनिश्चित भविष्यको खोजिमा जर्मनीतिर लागेका रमेश गुरुङ अहिले पोर्चुगलको सफल व्यवसायीको रुपमा परिचित नाम पनि हो । मानविकी संकायमा उच्चशिक्षा पुरा गरेको भएपनि उनले आफ्नो सृजना आफुले पढेको विधाभन्दा फरक पेशामा लगाउन लगाए । निरन्तरता र लगावकै कारण उनी सफल पनि भए । आफ्ना पिता पुर्खाले कहिल्यै नगरेको र आफ्नो लागि समेत विल्कुल नयाँ क्षेत्र व्यापार व्यवसायमा हात हाल्दा सफल भएकोमा उनी खुसी पनि व्यक्त गर्छन । कुनै काम गर्ने हो भने बुझेर गर्नुपर्छ उनी भन्छन्, 'एक पटक प्रयास गर्दैमा सफल भइएन भने पछि हट्नु हुन्न, निरन्तरता दिन सक्नुपर्छ ।' तर कुनै पनि क्षेत्रमा हात हाल्न अगाडी बुझेरै मात्रै प्रवेश गर्नुपर्ने उनको सुझाव छ ।

विक्रम संवत २०४६ सालको एउटा सुनौलो बिहानीमा उनको जर्मन यात्रा सुरु भएको थियो । भाषाको ज्ञान नहुनु, हातमा सिप नहुनु जस्ता कारणले जर्मनीमा सुरुवाती दिनमा केही कष्ट पनि बेहोर्नु परेको उनी दुःख साट्न पछि पर्दैनन् । 'कयौ पटक एकान्तमा धुरु धुरु रुए पनि' उनी भन्छन्- 'केहि समयको संघर्ष पश्चात एउटा जर्मन खाद्य कम्पनीमा स्टोर किपरको रुपमा काम सुरु गरे ।'

झण्डै ५ वर्ष स्टोर किपरका रुपमा काम गरिसकेपछि एक रेष्टुरेन्टमा किचन हेल्परका रुपमा उनले काम थालनी गरेका थिए । त्यसको केहि समयमै सेफ कुकको रुपमा उनको पदोन्नती भयो । यसरी झण्डै १० बर्षको समय उनले जर्मनीमा बिताएको उनी बताउँछन् । आम्दानीका दृष्टीले राम्रो भएपनि स्थायी बसोबास पत्र प्राप्त गर्न र ब्यवसाय संञ्चालनका लागि केहि झन्झटीलो प्रकृया देखेर साथिहरुको सुझावमा उनी त्यसपछि युरोपकै अर्को सुन्दर मुलुक पोर्चुगल हानिन पुगेका पुगे ।

पोर्चुगिस भाषाको ज्ञानको अभावको बाबजुत केहि नयाँ काम गर्ने सोच स्वरुप झण्डै १ करोड नेपाली रुपैयाको लगानीमा रेष्टुरेन्ट ब्यवसाय सुरु गरे । रेष्टुरेन्ट व्यवसाय सुरुवात गर्दाको क्षण सम्झदै उनी भन्छन्, “मलाई त्यतिबेला भाषाको ज्ञान थिएन त्यसकारण अंग्रेजी भाषा समेत केहिहद सम्म प्रयोग हुने विदेशी पर्यटकहरुको केन्द्रका रुपमा रहेको लिस्बनमा साग्रिला नामक नेपाली रेष्टुरेन्ट सुरु गरे । त्यतिबेला पोर्चुगोलमा नेपालीको संख्या हातको औलामा गन्न सकिन्थ्यो, करिब १०, १५ जना नेपाली मात्रै थिए । भाषागत ज्ञान समेत नभएकाले सहज होस् भनेर केहि पोर्चुगिजहरुलाई कामदारका रुपमा नियुक्त गरे ।” सुरुवातबाटै राम्रो ब्यापार हुन थालेपछि उनी झनै उत्साहित हुदै गए र नयाँ नयाँ लगानीका क्षेत्रहरुमा हात हाल्न थाले । हाल उनको निजी लगानीमा एउटा रेष्टुरेन्ट सञ्चालनमा छ भने अरु १०/११ ओटा ठुला कम्पनीहरुमा उनको लगानी छ । जसमा झण्डै १०० जना कामदार कार्यरत रहेको उनी बताउँछन् । त्यसमा करिब ८० जना नेपाली मात्रै छन् । नेपाली हुनुको नाताले आफ्नो कर्तब्य स्वरुप सकेसम्म नेपाली कामदारलाई मौका दिने गरेको गुरुङको भनाई छ ।

“जीवनमा धेरै दुःख पाएको छु तर मैलै केहिल्यै हार खाईन । त्यसैले हार नखानुस् । हिडिरहनुस् । गल्ती हुन्छन् । नआत्तिनूस् । गल्तीले नै हामीलाई पाठ सिकाउने हो । बाधा आउँछन् । झेल्नुस् । ठक्कर लागेर लड्न सक्नुहुन्छ । उठ्नुहोस् । र फेरी हिड्नुस् । त्यो शिखर याद गर्नुस्,जुन तपाईको लक्ष्य हो । एकदिन सफलता निश्चित छ । मैदानमा रहेसम्म जितको संभावना रहन्छ । इतिहासमा तिनै मानिसले हारेका छन् जसले मैदान छाडे । त्यसैले हार स्वीकार नगरौँ” आफ्नो जीवनको सुख दुःख र संघर्षबारे उनी यसरी आफ्ना भावनाहरु साट्दछन् । विदेश आउने नेपालीलाई उनी केहि सिप सिकेर दक्ष बनेर आउन सुझाव दिन्छन् । पोर्चुगलमा मात्रै झण्डै ७ देखि ८ हजार नेपाली छन् । जस मध्ये अधिकांश नेपालमा कुनै सिप नसिकी आएकाले सुरुवाती दिनमा निकै कष्टकर र जोखिमपुर्ण कार्य गर्न बाध्य भईरहेको उनी बताउँछन् ।

कास्कीको सार्दिखोला गाविस वडा नम्बर २ खादरजुङमा बि.सं. २०२४ सालमा उनको जन्म भएको हो । तत्कालिन ब्रिटिस आमी गंगा प्रसाद गुरुङ र आमा रामकुमारी गुरुङको कोखबाट जन्मिएका ५ छोरा छोरी मध्ये उनी जेठो छोरो हुन् । गुरुङले कास्कीको मौजे गाविस स्थीत मामाघरमा रहि ७ कक्षा सम्मको अध्ययन पुरा गरेका थिए । मामाघरमा हजुरबुबा हजुरआमा मात्रै रहेकाले सहारा स्वरुप उनलाइ सानै देखि मामाघर पठाईएको थियो । पछि हजुरबुबा हजुरआमा पोखरा बसाई सरेपछि उनले पोखराको राष्ट्रिय माविबाट एसएलसी पुरा गरे । गुरुङले पोखराकै पिएन क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उत्रिण पनि गरे । जीवनको यात्रा अगाडी बढीरहँदा २०५९ सालमा उनी कास्की लाहाचोककी गंगा गुरुङसाग विवाह बन्धनमा बाधिन पुगे ।

आधुनिक शहर लिस्बनमा बस्दा पनि उनलाई आफु जन्मे हुर्केको गाउँ ठाँउको याद सधै आइरहन्छ। “जहाँ पुगेपनि मलाई आफु जन्मेको गाँउठाँउ, साथीभाई र नेपालप्रति असाध्यै प्रेम छ, लगनीको उचित वातावरण हुने हो भने फर्किएर आफ्नै माटोमा केहि गर्न तयार छु‘ उनी भन्छन् । व्यापार ब्यवसायमा अति व्यस्त भएपनि उनले सामाजिक सेवामा पनि उतिकै ध्यान दिने गरेका छन् । आर्थिक रुपमा सम्पन्न हुन थालेपछि आफ्नो जन्मभूमी विर्सने र सामाजिक दायित्वबाट पन्छिने अधिकांश मानिसको स्वभाव हुन्छ । तर रमेश गुरुङ लगायत विदेशमा बसोबास गर्ने नेपालीहरुको यस्तो समुह पनि छ जो आफ्नो ब्यवसाय जति चुलिदै गयो, त्यति नै आफ्नो गाउँ, समाज, देश र जनताको भलाई र विकासमा अहोरात्र चिन्तनशील छ । गैरआवासिय नेपाली अभियानमा स्थापनाकाल देखि नै सक्रिय रहेका गुरुङ सुन्दर शान्त र समृद्ध नेपाल हेर्ने तिब्र अभिलाषा र आशामा रहेको बताउँछन् ।

,

0 comments

Write Down Your Responses