चितवनमा घरमै गएर लामखुट्टे नष्ट गरिँदै
असोज १८ । दुई महिनाको अन्तरालमा २७ जनामा डेङ्गुको सङ्क्रमण देखिएपछि चितवनमा घरघरमै पुगेर डेङ्गु सार्ने लामखुट्टे मार्ने अभियान थालिएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले खोज र नष्ट गर अभियान सञ्चालन गरेर डेङ्गु सार्ने लामखुट्टे र त्यसको लार्भा एवम् प्युपा नष्ट गर्न थालेको हो ।अभियानमा भरतपुरमा सयौँ घरमा पुगेर लामखुट्टे नष्ट गरिएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले बताए।लामखुट्टे जमेको पानीमा बस्ने भएकाले कुनै पनि भाँडामा पानी जम्न नदिनु नै यसबाट बच्ने प्रमुख उपाए भएको केसीले बताए। यस अभियानमा जिल्लामा २ सय भन्दा बढी स्वयम्सेवक खटाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनमा पछिल्लो दुई महिनामा ५ सय ४ जना ज्वरोका बिरामीमा गरिएको परीक्षणमा २७ जना सङ्क्रमित फेला परेका थिए । कार्यालयका अनुसार साउन र भदौमा २७ जनामा डेङ्गु देखिएको र असोजको विवरण भने सङ्कलन भइरहेको छ ।
यहाँका ठूला अस्पताल भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, नारायणी सामुदायिक अस्पताल लगायतमा नमुना सङ्कलन गरिएको थियो । गएको एक वर्षमा जिल्लामा ५२ जना डेङ्गुका रोगी फेला परेको समेत केसीले बताए ।
चितवन नेपालमा नै डेङ्गु रोगको उच्च जोखिम रहेको जिल्लामा पर्दछ । एडिस एजेप्टाई नामको डेङ्गु सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकले सल्लाह दिएका छन् । रासस


0 comments
Write Down Your Responses